विराटनगर । सुनसरीको इटहरी स्थित एनआइसी एसिया  बैकको कार्यालयमा पुगेर ऋणीले आत्मदहको प्रयास गरेका छन् । इटहरी आइतबारेका लालबहादुर पौडेलले एनआइसी एसिया बैकको इटहरी स्थित शाखा कार्यालयमा पुगेर  आत्मदहको  प्रयास गरेका थिए । 
बैकमा पुगेर शरीरमा पेट्रोल छर्किएपछि उनलाई बैकका कर्मचारी र दुर्गा प्रसाईँले  नेतृत्व गरेको नागरिक बचाउ अभियानका सदस्यहरूले बचाएका थिए । पौडेलले इटहरीमा रहेको जग्गा इटहरीकै व्यवसायी गङ्गा राम साहा तेलीलाई धितोमा राख्न दिएका थिए । झापामा रक्सी फ्याक्ट्री सञ्चालनका लागि भनेर साहाले पौडेलसँग धितो राख्न जग्गा माग गरेका थिए । सो जग्गा धितो राख्न दिए बापत  साहाले पौडेललाई व्याज दिने प्रलोभन दिएको देखिएको छ । अढाई करोड रुपैयाँमा जग्गा धितो राखेपछि साहाले व्याज पनि नदिएको र किस्ता पनि नतिरेको पौडेलले बताएका छन् । उनले जग्गा लिलामी प्रक्रियामा गएपछि आफूले आत्महत्याको प्रयास गरेको बताएका छन् । बैकले उनलाई आज कार्यालय बोलाएको थियो । कार्यालयमा बोलाउँदा उनी दुर्गा प्रसाईँ समूहका केही मानिसहरू समेत लिएर बैक पुगेका थिए । 
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको  छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले बैकमा पौडेलले बैकमा पुगेर आगो लगाउने प्रयास गरेको बताए ।