सुनसरी । झापा दमकको आस्था कलेजले इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
बुधवार भएको पहिलो खेलमा आस्था कलेजले विराटनगरको महेन्द्र मोरङ क्याम्पसलाई ११ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
समूह डी मा रहेको महेन्द्र मोरङको यो हारसँगै सेमिफाइनल यात्रा कठिन बनेको छ ।
इटहरीस्थित जनता क्रिकेट पार्कमा आस्था कलेजले प्रस्तुत गरेको ८५ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र मोरङले १३ ओभरमा छोटाइएको खेलमा ९ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो ।
महेन्द्र मोरङका आइन्स्टाइन रिजालले २१ र बियुस बस्नेतले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आस्थाले निर्धारित १३ ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । आस्थाका आर्यन स्वर्णले २७ र रुजल सुन्दासले नट आउट १४ रनको योगदान दिए । 
बुधबारनै भएको दोस्रो खेलमा नमुना कलेजले जनता बहुमुखी क्याम्पस इटहरीलाई ५९ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए मा रहेको नमुनाको यो लगातार दोस्रो जीत हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १५ ओभरमा छोटाइएको खेलमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
नमुनाको लागि राजु विकले सर्वाधिक ६५ रनको योगदान दिए । सक्षम ढकालले २१ रन जोडे ।
जवाफमा १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको जनता बहुमुखी ११ दशमलव २ बलमा ६८ रनमा समेटियो ।
जनता बहुमुखीका सुमन पौडेलले २२ रन बनाउँदा आभास गेलालले १३ रन बनाए । ६ जना ब्याटरले खाता नै खोल्न सकेनन् ।
नमुनाका सुबित मेहताले ६ विकेट लिँदा प्रकाश कार्कीले २ विकेट हात पारे ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजका टोलीहरूको सहभागिता रहेको छ । 
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।
प्रतियोगिताले कोसी प्रदेशका कलेजहरू बिचको क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुइँटेलले जानकारी दिए ।