विराटनगर । नेकपा एमाले कोशी प्रदेश सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएर आएका नामहरूलाई आवश्यक सुझावसहित अनुमोदन गरेको छ। प्रदेश कमिटीका पदाधिकारी र केन्द्रीय कमिटीका दुई जना सचिवसहितको बैठकले धनकुटा जिल्ला कमिटीबाट सिफारिस भएर आएका नाममा संशोधन समेत गरेको छ। अन्य जिल्लाबाट आएका नामहरूमा भने पार्टीले तय गरेको मापदण्डका आधारमा सुझावसहित अनुमोदन गरिएको कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले बताए।

उनका अनुसार धनकुटा जिल्ला कमिटीबाट एकल सिफारिस भएर आए पनि अन्य आकाङ्क्षीहरूको नाम नदेखिएकाले थपेर पठाउने निर्णय गरिएको हो। केन्द्रीय कमिटीका सचिव तथा प्रदेश संयोजक शेरधन राई र पार्टी सचिव हिक्मतकुमार कार्कीसहितको बैठकले धनकुटाबाट प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ र शकुन्तला बस्नेतको नाम थपेर पठाउने निर्णय गरेको उनले बताए। उनले अन्य जिल्लामा भने सुझावसहित अनुमोदन गरिएको जानकारी दिए।

कोशीका ४ क्षेत्रमा एकल सिफारिस

कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रमा एकल सिफारिस भएको छ। इलामको क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ, झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, सुनसरी ४ बाट जगदीश कुसियैत र भोजपुरबाट केन्द्रीय सचिव शेरधन राईको एकल सिफारिस भएको छ।बैठकले सिफारिस भएकाहरूले पार्टीमा पुर्‍याएको योगदान, लोकप्रियता आदिका बारेमा सुझावसहित लेखेर पठाउने निर्णय गरेको सचिव भण्डारीले बताए।