सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई फेसबुके प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले इटहरीमा शुक्रवार आयोजित सभामा देश जलेको बेला भाग्ने शाह कुनै पनि हालतमा प्रधानमन्त्रीको लायक नभएको बताए ।
मेयर शाहप्रति आक्रामक देखिएका साम्पाङले रबी लामिछाने र कुलमान घिसिङ पनि विदेशीको मतियार भएको आरोप लगाए ।
तीन वटै नेताहरू मिलेर भएको एकतालाई साम्पाङले गाँठो बन्धनको संज्ञा समेत दिए ।
उनीहरूको गाँठो परेको बन्धनले देशलाई समृद्ध नबनाउने साम्पांगको दाबी थियो ।
देश समृद्ध बनाउन श्रमदान अपरिहार्य रहेको उनको भनाई थियो ।
पार्टीको सङ्गठन विस्तार तथा चुनावी अभियान आक्रामक बनाएका साम्पाङले नीति निर्माणसँगै श्रम संस्कृति स्थापित नगरेसम्म देशले वास्तविक विकासको बाटो नलिने बताए ।
लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्छ ।
उनले भने “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै दिगो विकास र समृद्धि सम्भव हुन्छ,” ।
देशको समृद्धि आपसी एकता र सहकार्यबाट मात्रै हासिल हुने उनको भनाइ थियो ।
अध्यक्ष राईले देश अहिले जलेर खरानी बनेको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सबै मिलेर पुनः निर्माण गर्नुपर्ने बताए ।
आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायले विशेष योजना बनाएर आवश्यक समन्वय गर्नुपर्ने अध्यक्ष राईले बताए ।

















