सुनसरी –इटहरीमा जारी कोसी प्रदेश पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि पांचखपन नगरपालिका र इटहरी उपमहानगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन् ।
इटहरी भलिबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा संखुवासभाको पांचखपन नगरपालिकाले मोरङको बेलबारी नगरपालिकालाई ३–० को सोझो सेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
यसअघि आइतबार भएको उद्घाटन खेलमा झापाको गौरादह नगरपालिकालाई पराजित गर्दै सेमिफाइनल खेलेको पांचखपनले पहिलो सेट २५–१६ ले जितेको थियो । दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१२ ले जित्दै फाइनल प्रवेश गरेको हो ।
सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा इटहरी उपमहानगरले कोसी प्रदेश प्रहरी टिमलाई ३–० को सोझो सेटले पराजित गर्दै पांचखपनसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो सेट २५–१७ ले जित्दै राम्रो सुरुवात गरेको इटहरीले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै उपाधि होडमा पुगेको हो । इटहरीले आफ्नो पहिलो खेलमा सुनसरीको वराहक्षेत्र नगरपालिकालाई पराजित गरेको थियो ।
फाइनल खेल मङ्गलवार दिउसो हुने आयोजक क्लबका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
कोसी प्रदेशका विभिन्न ८ वटा पालिकाका टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
सेमिफाइनलमा पराजित बेलबारी र कोसी प्रदेश प्रहरी टिमलाई पनि सान्त्वना पुरस्कारको रूपमा १०–१० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
















