सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०५ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।

कोशीका १४ जिल्लामा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी सुनसरी ४ बाट मनोनयन दर्ता भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले मनोनयन पत्र दर्ता गरेका हुन् ।

सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा सबै क्षेत्रमा गरी ११० जनाले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले क्षेत्र नम्बर १ मा २६, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएको जनाएको छ ।

मोरङका ६ वटा क्षेत्रमा ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मोरङमा सबै भन्दा बढी क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर ३ मा २१ जनाले मनोनयन दर्ता गराएका छन् ।

सो क्षेत्रबाट २१ जनाले मनोनयन दर्ता गराएका छन् । मोरङको क्षेत्र नम्बर १ मा १८, २ मा १७, ४ मा २०, र ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । झापा १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरको क्षेत्र नं १ मा १८ र २ मा १३ गरी जम्मा ३१ र इलामका दुई क्षेत्र मध्ये १ मा १३ र २ मा १४ जना गरी २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १८, ओखलढुङ्गामा १६, खोटाङमा १५, पाँचथरमा १५, ताप्लेजुङमा १३, सङ्खुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२ र सोलुखुम्बुमा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।