सुनसरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलवार मनोनयन गरेका थापाविरुद्ध बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

तर थापा विरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अरुण मेहेताले जानकारी दिए ।

थापा विरुद्ध प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा बुधवार उनीविरूद्ध उजुरी गरेका हुन् ।

थापाले इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखापरीक्षणले पनि बक्यौता रहेको ठहर गरेको उजुरीमा उल्लेख गरिएको थियो ।

सोबारे बिहीबार सुनवाइ गर्दै प्रमाण नपुगेको भन्दै थापाको उम्मेदवारी मनोनयन सदर भएको सहायक निर्वाचन अधिकृत मेहताले जानकारी दिए ।

थापा यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए ।