विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कोशीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला तर्फ एमालेकी रोशनी मेचे, दलित तर्फ एमालेकै सोम पोर्तेल र खुल्ला तर्फ नेपाली काँग्रेसका सुनिलबहादुर थापा विजयी भएका हुन् ।
थापा भने यस अघि नै निर्विरोध भएका हुन् । दलित र महिला तर्फ भएको निर्वाचनमा दलित तर्फ पनि नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरे । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए । यस्तै महिला तर्फ रोशनी मेचे विजयी भएकी छन् । उनले ७ हजार १ सय ७३ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २ सय ६८ मत पाइन् । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरू मध्ये नेपाली काँग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिस्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो । पोर्तेल २०३५ साल फागुनमा पाँचथरमा जन्मिएका हुन् । उनी झापाको हल्दिवारीमा बसोबास गर्छन् । पोर्तेल एमालेको भ्रातृ सङ्गठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव हुन् ।

















