सुनसरी । कोसी प्रदेश क्रिकेट संघद्वारा आयोजना हुने एलाइट कप क्रिकेट प्रतियोगिताका लागि सुनसरी जिल्लाको  टिम घोषणा गरिएको छ ।
इटहरीमा तीन दिनसम्म गरिएको छनौट प्रतियोगिताको आधारमा सुनसरी जिल्ला क्रिकेट संघले खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।
घोषित टिमको कप्तानी भूपाल लुइँटेलले गर्नेछन् भने रितेश रोय र रोहन खत्री विकेटकिपरको भूमिकामा रहनेछन्।
टिममा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित संयोजन रहेको छ संघका अध्यक्ष सिपी पौडेलले जानकारी दिए ।
घोषित अन्य खेलाडीहरूमा गौरव कटवाल, आकाश सर्राफ, रबिन मण्डल, रोहन शाह, ओम बहादुर कुवर, समीर तिमल्सिना, अफान ताहिर, रिजान पाण्डे, कविराज खत्री, विकल्प आचार्य, आशिष मण्डल रहेका छन् ।
टिमको व्यवस्थापकको जिम्मेवारी ताहिर हुसेनले सम्हाल्ने छन् भने प्रशिक्षकको रूपमा राजकुमार प्रधान रहनेछन् ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल सिपीद्वारा जारी सूचनामा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै एलाइट कप प्रतियोगितामा सुनसरीको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन हुने विश्वास व्यक्त गरिएको छ ।
एलाईटकप कोसी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगरको मेरिलेबन क्रिकेट मैदानमा हुदैछ ।
प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोसी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीको सहभागिता रहने छ ।
माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबिच खेल हुनेछ ।
माघ १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।