सुनसरी – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट बिहीबार देखी सुरु हुने भएको छ ।
हिसान सुनसरीले बुधवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १२ औँ संस्करणको स्पोर्ट्स मिट माघ १५ देखी २८ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।
दुई सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए ।
विगत तीन बर्सदेखि सुरु गरिएको हिसान इटहरी रनलाई व्यवस्थित गर्न तत्कालका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए । स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी ताल तलैया स्थित बुढासुब्बा खेलमैदान र इटहरी रङ्गशालामा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ ।
भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल लर्डबुद्ध स्कुल रामधुनीमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ ।
उक्त प्रतियोगिताहरू सम्पन्न गर्न सम्बन्धित खेलको जिल्ला संघ र विभिन्न विद्यालयका शिक्षकहरूलाई संयोजक तोकी जिम्मेवारी दिइएको छ । वक्तृत्वकला, कविता प्रतियोगिता, बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन लगायतका खेलहरू पनि हुने संयोजक लुइँटेलले जानकारी दिए ।
सुनसरी जिल्लाभरिका दुई हजार बढी विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १० हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ ।
















