विराटनगर ।नेमुवामा रहेकाे स्मृति इङलिस बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस तथा अभिभावक दिवस एक भव्य समारोहका बीच सम्पन्न गरेको छ। कार्यक्रम विद्यालयका गुरु लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । 
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।
कार्यक्रमको विशिष्ट अतिथिका रूपमा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा उद्योगी व्यवसायी भीम घिमिरे, सुप्रसिद्ध कथा वाचक राधिका दासी र हल्दिवारी डाेरीतान संघका संस्थापक अध्यक्ष युनिता दवाडीको सहभागिता रहेको थियो। सो अवसरमा राधिका दासीले करिब एक घण्टासम्म जीवन उपयोगी र आध्यात्मिक विषयमा विशेष प्रवचन दिएकि थिइन् ।

समारोहमा विद्यार्थीहरूले आफ्नो प्रतिभाको प्रस्फुटन गर्दै उत्कृष्ट सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। जसमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले मञ्चमै पुगेर मन्तव्य राखेका थिए भने साना विद्यार्थीहरूको विशेष प्रस्तुतिसँगै विविध नृत्य, गीत र दुईवटा सन्देशमूलक नाटकहरू प्रदर्शन गरिएको थियो। विद्यालयले सोही अवसरमा राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी भई विद्यालयको नाम उच्च राख्ने विद्यार्थीहरूलाई सम्मान गरेको थियो। साथै, विद्यालय स्थापना कालदेखि नै साथ दिँदै आएका २२ जना पुराना अभिभावकहरूलाई कदरपत्रसहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अमृता गच्छदार, उद्योगी भीम घिमिरे र युनिता दवाडीले स्मृति इङलिस बोर्डिङ स्कुलले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेको सफलताको प्रशंसा गरे।

उनीहरूले विद्यालयले बालबालिकाको चौतर्फी विकासमा पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए। विद्यालयकी प्रिन्सिपल रीता न्यौपानेले विद्यालयको शैक्षिक गतिविधि र भावी योजनाका बारेमा मन्तव्य राख्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन ज्ञापन गरिन् ।
साेही अवसरमा कक्षा नर्सरी देखि ९सम्मका विद्यार्थीले कला प्रस्तुत गरेका थिए ।

















