सुनसरी । जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये १ लाख ३४ हजार ३ सय २ मतदाता रहेको सुनसरी–३ मा आधाभन्दा बढी मतदाता थारु समुदायका छन् ।
यस क्षेत्रमा उमेद्धवार बनेका अधिकांश थारु समुदायकै छन् । स्वतन्त्र र केही साना दल देखी प्रमुख दलका उमेद्धवार अधिकांश थारु समुदायका भएकाले उनीहरूको ध्यान जातीय मत आफ्‌नो पक्षमा पार्नमा केन्द्रित देखिन्छ ।
यस क्षेत्रमा नेपाली राजनीतिमा शक्ति र सत्ताको खेल बुझ्ने चतुर खेलाडीका रूपमा चिनिने विजयकुमार गच्छदार नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् । लगातार छैठौँ पटक चुनाव जितेका गच्छदार गत निर्वाचनमा भने पहिलो पटक पराजित भएका थिए ।
यस पटक फेरि जितका लागि गच्छदार प्रतिस्पर्धामा उत्रिँदा नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरी लगातार दोस्रो पटक गच्छदारलाई पराजित गर्ने रणनीतिमा छिन । विगत १८ वर्षदेखि निरन्तर प्रतिस्पर्धी बन्दै आएका गच्छदार र चौधरीको बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद अशोक चौधरीको इन्ट्रीले सुनसरी ३ मा चुनावी सरगर्मी बढेको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट अर्का थारु उमेद्धवार दुर्गेश चौधरी समेत सुनसरी ३ बाटै उमेद्धवार बनेकाले यहाँको चुनावी प्रतिस्पर्धा रोमाञ्चक हुने आकलन छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०२७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका गच्छदार सुनसरी क्षेत्र नम्बर २ मा काँग्रेसबाट २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए ।
गच्छदार २०६४ सालमा मधेसको माग सम्बोधन नगरेको भन्दै काँग्रेससँग असन्तुष्ट भएर मधेसी जनअधिकार फोरम नेपालमा आबद्ध भई फेरि  सुनसरी ३ बाट विजयी भए । २०४८ सालपछि अहिलेसम्म १५ पटक मन्त्री भइसकेका गच्छदार जिल्लाको समग्र विकासका निम्ति आफूले सबैभन्दा बढी योगदान दिएका कारण विजयी हुनेमा ढुक्क रहेको बताउनछन ।
थारु समुदायमा अहिलेसम्म आफूले जति काम अरू कसैले नगरेको उनको दाबी छ । 
गच्छदारलाई चुनौती दिँदै एमालेकी भगवती चौधरी लगातार तेस्रो पटक चुनावी भिडन्तमा उत्रिएकी छन् । ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका गच्छदार विरुद्ध २०७६ माघमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले सफाइ दिए पनि पुनरावेदन गरेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । गच्छदारलाई उमेद्धवार बन्न कानुनले नरोके पनि दोषी ठहर भएमा सांसद पद निलम्बन हुन्छ ।
यस्तो अवस्थामा गत निर्वाचनमा फराकिलो मतान्तरले गच्छदारलाई हराएकी चौधरी दोस्रो पटक चुनाव जित्ने आत्मविश्वासमा देखिएकी छन् । यसपालिको चुनाव अलि टेक्निकल भएकाले सोही अनुसार रणनीतिक योजना अनुसार तयारी गरिरहेको चौधरीको भनाई छ ।
चौधरी र गच्छदारको प्रतिस्पर्धाको दौडमा यस पटक गत निर्वाचनमा राम्रो मत ल्याएको रास्वपा बाट निवर्तमान सांसद अशोक चौधरी पनि सुनसरी ३ बाट उम्मेदवार बनेपछि चुनावी माहौल उत्कर्षमा पुगेको छ । रास्वपा सांसद चौधरी गत निर्वाचनमा समानुपातिक सांसद बनेर चर्चामा आएका थिए ।
अहिलेको चुनावमा केही स्वतन्त्र उम्मेदवार र साना दलको उपस्थिति पनि चुनावी समीकरणमा प्रभाव पार्ने भएकाले आफ्‌नो जित सुनिश्चित रहेको चौधरीको दाबी छ ।
सुनसरीका १२ स्थानीय तहमध्ये गढी र बर्जू गाउँपालिका तथा दुहबी नगरपालिकाका सबै वडा समेटिएको सुनसरी–३ मा इटहरी उपमहानगरपालिका जम्मा १० वटा वडा र इनरुवाको एक मात्र वडा नम्बर ७ पर्छन् ।
यस निर्वाचन क्षेत्रको दुहबी नगरपालिकाका वडाहरूमा ४० हजार ५ सय ३२ मतदाता छन् ।
इटहरी क्षेत्रमा ३९ हजार ५ सय ३१ मतदाता रहँदा गढी गाउँपालिकामा २५ हजार ५ सय ७५ र बर्जूमा २३ हजार ९ सय ३६  मतदाता रहेका छन् ।
एक मात्र वडा परेको इनरुवा ७ मा ४ हजार ७ सय २८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रबाट २२ जनाले उम्मेदवारी दिएका छन् ।
श्रम संस्कृति पार्टीले रामप्रसाद सदा, समावेशी समाजवादी पाटी नेपालले किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घनश्याम गुरुङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ ।
यहाँको चुनावी नतिजाले गच्छदारको विरासत फर्किन्छ या भगवती चौधरीले नै दोस्रो पटक चुनाव जित्छीन वा रास्वपाका अशोक चौधरीको उदय हुन्छ वा चामत्कारिकरुपले अरू कुनै उम्मेदवार विजयी हुन्छन्, त्यसको फैसला आगामी फागुन २१ पछि हुनेछ ।