इटहरी । हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत हिसान स्कुलतर्फको भलिबल प्रतियोगितामा छात्रतर्फ पिसजोन स्कुल र छात्रातर्फ लर्डबुद्ध इन्टरनेशनल स्कुलले उपाधि जितेका छन् । इटहरी–तरहरास्थित पूर्वाञ्चल सेकेण्डरी स्कुलको भलिबल कोर्टमा मंगलबार सम्पन्न छात्रतर्फको फाइनल खेलमा पिसजोन स्कुलले घरेलु टिम पूर्वाञ्चल सेकेण्डरी स्कुललाई पराजित गर्दै उपाधि हात पारेको हो ।
यस विधामा लर्डबुद्ध इन्टरनेशनल स्कुल तेस्रो स्थानमा सीमित भयो ।
छात्रतर्फ पिसजोनका अश्मीन विक उत्कृष्ट खेलाडी घोषित भए भने आयोस सरदार बेस्ट सेटर बने ।
पूर्वाञ्चल सेकेण्डरीका प्रनेश भुजेल बेस्ट सर्भर, डेनिस श्रेष्ठ बेस्ट स्पाइकर र सत्यम लिम्बु बेस्ट डिफेन्स घोषित भए ।
लर्डबुद्धका प्रशव चौधरी बेस्ट ब्लकर बने ।

यस्तै छात्रातर्फको फाइनल खेलमा लर्डबुद्ध इन्टरनेशनल स्कुलले विश्वआदर्श स्कुललाई पराजित गर्दै उपाधि जित्यो ।
पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो भयो ।
छात्रातर्फ लर्डबुद्धकी श्वेशा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति चौधरी बेस्ट डिफेन्स र आस्था चौधरी बेस्ट सेटर बनिन् ।
पूर्वाञ्चल सेकेण्डरीकी काजल श्रेष्ठ बेस्ट ब्लकर र विपना कार्की बेस्ट स्पाइकर घोषित भइन् ।
विश्वआदर्श स्कुलकी युबिना तामाङ बेस्ट सर्भर बनिन् ।
दुई दिनसम्म चलेको प्रतियोगितामा छात्र र छात्रा दुवै विधामा १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक विशाल कार्कीले जानकारी दिनुभयो ।

















