सुनसरी  । आयोजक धरान फुटबल क्लबले २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा धरानका तर्फबाट बिबेक राई, सबिन राई, प्रजल थापा र नगेन राईले गोल गरे । जर्जियनको तर्फबाट सरद मुण्डा र साइजाले मात्र गोल गरे ।

बक्सर प्रधानको प्रहार बाहिरियो भने बिशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर सब्सिच्युड गोलकिपर बिपुल मगरले बिफल बनाए ।

बिपुल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पाए ।

यसअघि निर्धारित समयको ८ औं मिनेटमा जर्जियनका हेमराज भुजेलले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।

तर खेलको १९ औ मिनेटमा धरानका कप्तान तपन कार्कीले गोल फर्काएपछी खेल १–१ को बराबरीमा आयो ।

बांकी समय कुनै टिमबाट गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

उद्घाटन खेलको बिजेता धरानले अब पोखराको लालीगुराँस एफसीसँग माघ २६ गते क्वाटरफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

लालीगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेल्नेछ ।

शुक्रबारको दोस्रो प्रि–क्वाटरफाइनल खेल अर्को पाहुना टोली रोयल थिम्पु फुटबल क्लब भुटान र झापा ११ बीच प्रतिष्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक १० वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख पुरस्कार पाउनेछ ।

दुबै पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पाउनेछ ।

गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो ।

बिधागत उत्कृष्टलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।