सुनसरी । भुटानको रोयल थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ ले २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोलकपमा विजयी सुरुआत गरेको छ। शुक्रबार धरान रंगशालामा सम्पन्न दोस्रो प्रि–क्वाटरफाइनल खेलमा जित निकाल्दै झापा ११ अन्तिम आठमा प्रवेश गरेको हो।

झापाली टिमको जितमा सुनिल खड्का र राजेश दाहालले एक–एक गोल गरे। खड्काले खेलको ३५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दाहालले ६३औँ मिनेटमा दोस्रो गोल थपे।

उत्कृष्ट प्रदर्शन गरेका दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे।

अब झापा ११ ले माघ २७ गते ललितपुरको सातदोबाटो युथ क्लबसँग क्वाटरफाइनल खेल्नेछ।

सातदोबाटोले बाई पाउँदै सिधै क्वाटरफाइनलमा स्थान बनाएको हो।

IMG_3539

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार क्वाटरफाइनल चरणका खेलहरू शनिबारबाट सुरु हुनेछन्। शनिबार हुने पहिलो क्वाटरफाइनल खेलमा साबिक विजेता न्युरोड टिम (एनआरटी) र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लबलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब पनि क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिनेछ।

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।