सुनसरी । हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जितेको छ ।
इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा गत वर्षको उपविजेता सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरको पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।
निर्धारित समयको १९ औं मिनेटमा विश्व आदर्शका दिनेश गौतमले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
तर ५५ औं मिनेटमा सुष्मा गोदावरीका शिव राईले गोल फर्काएपछि खेल बराबरीमा आयो ।
बाँकी समय दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
उपाधिसँगै सुष्मा गोदावरीले ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपविजेता बनेको इटहरीको विश्व आदर्शले १५ हजार रुपैयाँ पाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच विश्व आदर्शका दिनेश गौतम भए । उनले १ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुष्मा गोदावरीका शिव राई घोषित भए ।
उनले सर्वोत्कृष्ट भएबापत ५ हजार रुपैयाँ पाए । उच्च गोलकर्ताको विश्व आदर्शका निमस कार्की भए भने दिप्सन राउत बेस्ट डिफेन्स घोषित भए ।
सुष्मा गोदावरीका राहुल लिम्बू बेस्ट गोलकिपर, समिर चौधरी बेस्ट मिडफिल्डर, देवराज श्रेष्ठ बेस्ट फरवार्ड घोषित भए । उनीहरूले जनही २-२ हजार रुपैयाँ पाए ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रमुख अतिथि हिसान केन्द्रीय अध्यक्ष युवराज शर्मा, सल्लाहकार लेखनाथ घिमिरे, एन्फा कोशी सहमहासचिव केशव कार्की लगायतले पुरस्कार वितरण गरे ।
उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरीको आयोजना तथा राष्ट्रिय जागृति क्लब इटहरीको संयोजनमा आयोजना भएको प्रतियोगिता माघ २३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा सुनसरीका १९ वटा उच्च माविहरूको सहभागिता रहेको हिसान सुनसरीका सचिव सुभाष लुइँटेलले जानकारी दिए ।

















