विराटनगर । नेकपा एमाले मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार जीवन  जीवन घिमिरेले आगामी निर्वाचनलाई सामान्य चुनावी प्रतिस्पर्धाका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई राष्ट्रको भाग्य र भविष्यको फैसला गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन्। नेकपा एमाले कटहरी २ को जनसम्पर्क तथा प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता घिमिरेले यसपटकको निर्वाचन कुन दललाई सत्तामा पुर्‍याउने भन्ने बहसभन्दा माथि उठेर राष्ट्रियताको संरक्षण र लोकतान्त्रिक व्यवस्थाको निरन्तरतामा केन्द्रित हुनुपर्नेमा जोड दिए । देशभक्त र राष्ट्रवादी शक्तिहरूको नेतृत्व कायम रहने वा नरहने भन्ने प्रश्नको छिनोफानो यही निर्वाचनमार्फत हुने दाबी गर्दै उनले यसलाई सिंगो मुलुकको अस्तित्वसँग जोडेर व्याख्या गरे।

सात दशक लामो बलिदानपूर्ण संघर्षपछि स्थापित लोकतान्त्रिक शासन प्रणाली र गणतान्त्रिक संविधानको जगलाई मजबुत बनाउनु नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो। घिमिरेले संविधानको स्थायित्व र सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि मतदाताले निकै सोचविचार गरेर जिम्मेवारीपूर्वक निर्णय लिनुपर्ने आवश्यकता औँल्याए। आफ्नो राजनीतिक यात्रा सधैँ पारदर्शी र खुला किताबजस्तै रहेको उल्लेख गर्दै उनले आफू जनताको शासक नभई दुःख–सुखको सच्चा साथी र सेवक बन्न चाहेको भावना समेत व्यक्त गरे।

आफू निर्वाचित भएमा नागरिकको शिर झुक्ने गरी कुनै पनि अनैतिक वा गलत कार्य नगर्ने दृढ प्रतिबद्धता जनाउँदै उनले आफ्नो विगत र वर्तमान दुवै जनतासामु स्पष्ट रहेको प्रष्ट पारे। क्षेत्रका जनताको राय, सल्लाह र आधारभूत आवश्यकतालाई नै आफ्नो राजनीतिक कार्यदिशाको केन्द्रविन्दुमा राख्ने अठोट गर्दै उनले विकास र समृद्धिको यात्रामा सबैको सहकार्य रहने विश्वास व्यक्त गरे।