सुनसरी । राष्ट्रिय खेलाडीहरु सम्मिलित मच्छिन्द्र फुटबल क्लब सातौं झापा गोल्डकपको च्याम्पियन भएको छ।
सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले सोमबार पन्छाउँदै मच्छिन्द्रले पहिलो पटक झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको हो ।
मच्छिन्द्रले उपाधिसँगै नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपीएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। झापा गोल्डकप यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको फुटबल प्रतियोगिता हो ।
खेलको ३१ औँ मिनेटमा मच्छिन्द्रले अग्रता बनायो । स्ट्राइकर प्रदीप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोष्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भएको थियो ।
एपीएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मच्छिन्द्रले अर्को गोल पहिलो हाफको ४५ औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मच्छिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भएका थिए ।
खेलको ८३ औँ मिनेटमा मच्छिन्द्रले अर्को गोल थप्यो । अयोला हमजातको कर्नर प्रहारमा डिफेन्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भए ।
पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपीएफले दोस्रो हाफमा मच्छिन्द्रमाथि दबाब दिएको थियो । खेलको ८२ औँ मिनेटमा एपीएफले एक गोल फर्कायो । विश्वास उदासको फ्रिकिकलाई मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई एपीएफका दिपेश धिमालले सुन्दर गोल गरे ।
खेलको ७६ औँ मिनेटमा एपीएफ १० खेलाडीमा सीमित भयो । डिफेन्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफले खेलमा दबाबको सामना गरेको थियो ।
खेलको 'प्लेयर अफ द म्याच' विजेता टिमका प्रदीप बुढाथोकी भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए । बेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मछिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।
प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिति मोक्तानले यामाहा कम्पनीको एक थान स्कुटर पाइन् ।
यसैबीच, मेचीनगर, काँकडभिट्टा निवासी पूर्व राष्ट्रिय फुटबलर नरोत्तम गौतमलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा नेपालका तीन विभागीय क्लब र तीन विदेशीसहित १० टोली सहभागी थिए।
















