सुनसरी । प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाको प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाटमा व्यस्त लामाको उपस्थिति बिना सार्वजनिक गरिएको ‘प्रतिबद्धता–पत्र’ मार्फत राष्ट्रियता, सुशासन, विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाइएको छ ।
मङ्गलवार इटहरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा लामाले राष्ट्र हित, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षा गर्दै स्थिर सरकारमार्फत विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
राजनीतिक अस्थिरता, भ्रष्टाचार र सीमित स्वार्थ समूहको प्रभाव अन्त्य गर्दै पारदर्शी तथा जनउत्तरदायी शासन स्थापना गर्न आफू सक्रिय रहने उल्लेख छ । उनले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, ढल, खानेपानी, सिँचाइ, पुल तथा अन्य आधारभूत संरचना निर्माणलाई तीव्रता दिने उल्लेख गरेका छन् । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन र उपकरणको उपलब्धता सुनिश्चित गर्ने योजना अघि सारेका छन् ।
युवा लक्षित स्वरोजगार तथा रोजगार सिर्जना, सीपमूलक तालिम, कृषि आधुनिकीकरण, मल–बीउको सहज उपलब्धता र किसानका उत्पादनको बजारीकरणमा विशेष जोड दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
साना, मझौला तथा ठुला उद्योगलाई प्रोत्साहन, लगानीमैत्री वातावरण निर्माण र सहुलियतपूर्ण ऋण प्रवाहमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य उनले राखेका छन् ।
त्यसै गरी, महिला, दलित, आदिवासी जनजाति, पिछडिएको समुदाय र ज्येष्ठ नागरिकका हक–अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा सुदृढ गर्ने, खेलकुद तथा पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजनासमेत सार्वजनिक गरिएको छ ।
लामाले इटहरी, धरान, रामधुनी र देवानगञ्ज क्षेत्रका विभिन्न सडक स्तरोन्नति, सामुदायिक भवन निर्माण, कृषिसँग सम्बन्धित उद्योग स्थापना तथा प्राविधिक शिक्षाको विस्तारजस्ता कार्यक्रम अघि सार्दै क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई स्थानीय तहमा कार्यान्वयन गर्दै सुनसरी–२ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले उल्लेख गरेका छन् ।
















