विराटनगर। विराटनगर महानगरपालिकाको आयोजना तथा बाल मन्दिर आधारभूत विद्यालयको समन्वयमा सम्पन्न महानगर स्तरीय आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा निकालेको छ। फागुन ५ गते सम्पन्न सामुदायिक विद्यालयहरू बीचको प्रतिस्पर्धामा आदर्श माविले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल ग¥यो। प्रथम भएसँगै विद्यालयले रनिङ सिल्ड, मेडल, प्रमाणपत्र र जनही ७ हजार नगद पुरस्कार प्राप्त गरेको छ।
त्यसै गरी, आज फागुन ६ गते भएको सामुदायिक र संस्थागत (निजी) विद्यालयहरूको संयुक्त प्रतिस्पर्धामा पनि आदर्श माविले आफ्नो दबदबा कायम राख्यो। कडा प्रतिस्पर्धाका बिच आदर्श मावि दोस्रो स्थान हासिल गर्न सफल भयो। सो क्रममा विद्यालयले ट्रफी, मेडल, प्रमाणपत्र र जनही रु. ५ हजार नगद पुरस्कार जितेको छ।
आदर्श माविको तर्फबाट प्रतिनिधित्व गर्ने टिममा आदित्य कुमार सेन (कक्षा ५), सुरक्षा शाह (कक्षा ५), सिजन प्रधान (कक्षा ५) का विद्यार्थीहरू सहभागी थिए।

लगातार दुई दिनसम्म प्राप्त यो सफलताले विद्यालय परिवारमा उत्साह थपेको छ। विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गरे । उनले हाम्रा विद्यार्थीहरूले महानगर स्तरीय मञ्चमा देखाएको यो क्षमताले विद्यालयको शिर उच्च बनाएको उल्लेख गरे। केवल किताबी ज्ञानमा मात्र नभई अतिरिक्त क्रियाकलाप र सामान्य ज्ञानमा पनि हाम्रा विद्यार्थीहरू अब्बल छन् भन्ने यो नतिजाले प्रमाणित गरेकोले आगामी दिनमा पनि यस्ता प्रतिभाहरूलाई प्रस्फुटन गर्न विद्यालय प्रतिबद्ध रहेको बताए।
प्रअ पोखरेलले साना विद्यार्थीहरूमा रहेको यो जिज्ञासा र आत्मविश्वास देख्दा निकै गर्व लागेको छ। यसले शिक्षक, अभिभावक र विद्यार्थी सबैको सामूहिक प्रयास सफल भएको बताए।
















