सुनसरी । नमुना र बिश्वआदर्श कलेजले इटहरीमा जारी ‘नमुना सुपर कप अन्तर–कलेज स्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा आयोजकको टिम नमुना कलेजले कोसीसेन्टजेम्स कलेजलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोसी निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । जवाफमा ६२ रनको विजयी लक्ष्य नमुनाले ५ दशमलव २ बलमा केवल १ विकेट गुमाउँदै पुरा गरेको थियो । खेलको प्लेयर अफद म्याच नमुनाका सुबित मेहता घोषित भए । ३ ओभर बलिङ गरेका उनले १० रन खर्चिएर ३ विकेट हात पारेका थिए । सो क्रममा उनले १ मेडन ओभर बलिङ गरे ।
बिहीबार नै सम्पन्न दोस्रो खेलमा इटहरीको बिश्वआदर्श कलेजले सुस्मा गोदावरी कलेजमाथि १० विकेटको फराकिलो जीत निकालेको छ । टस जितेर ब्याटिङ गरेको सुस्माले प्रस्तुत गरेको २७ रनको झिनो लक्ष्य बिश्वआदर्शले १ दशमलव १ बलमै सहजै भेटायो । उक्त खेलमा बिश्वआदर्शका भूपाल लुइँटेल म्यान अफद म्याच घोषित भए । ४ ओभर बलिङ गर्दा १ मेडन सहित ६ विकेट हात पारेका उनले केवल ५ रन मात्र खर्चिए ।
शुक्रवारको पहिलो खेल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर र पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानबिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल झापा दमकको आस्था कलेज र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच हुने प्रतियोगिता संयोजक गौरव कटुवालले जानकारी दिए । कोसी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान र कलेज स्तरीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा कलेजका टिमहरूको सहभागिता रहेको छ ।
कोसी प्रिमियर लिग सिजन दुईको च्याम्पियन टोली नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा सुरु भएको प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।
साथै ‘म्यान अफ द सिरिज’, ‘वेस्ट ब्याट्सम्यान’ र ‘वेस्ट बलर’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोगमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन जीके स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

















