सुनसरी  । विराटनगरको मेहेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इटहरीमा जारी नमुना सुपरकप अन्तर कलेजस्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा मेहेन्द्र मोरङले धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मेहेन्द्र मोरङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९५ रनको बलियो योगफल तयार पारेको थियो । टोलीका लागि आशिष मण्डलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ६० रन बनाए । उनले चौका–छक्काको वर्षा गर्दै टोलीलाई उच्च स्कोरतर्फ डोहोर्‍याए । सागर मोचीले २४ बलमा ३६ रन तथा अटल शाहले १६ बलमा २२ रनको योगदान दिए । पूर्वाञ्चलका बलर लविस भण्डारी र काशीराम सञ्ज्यालले समान ३–३ विकेट लिए पनि टोलीलाई ठूलो स्कोरबाट जोगाउन सकेनन् ।

जवाफमा १ सय ९६ रनको विजय लक्ष्य पछ्याएको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो । काशीराम सञ्ज्यालले २१ बलमा ४८ रनको तेज पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । विश्वास सापकोटाले ३० तथा अजित कुमारले २६ रन जोडे । धारिलो बलिङ गरेका मेहेन्द्र मोरङका बलर प्रभावशाली देखिए । प्रतीक पोखरेलले ४ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट लिए । अमरदिप यादवले २ तथा सुजल भट्टराईले १ विकेट हात पारे । आक्रामक अर्धशतकसहित टोलीलाई जिततर्फ डोहोर्‍याएका महेन्द्र मोरङका आशिष मण्डल ‘म्यान अफ द म्याच’ घोषित भए । यस जितसँगै मेहेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले उपाधि यात्रालाई मजबुत बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

शुक्रबार नै सम्पन्न दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा झापा दमकको आस्था कलेजले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । इटहरीस्थित जनता पार्क खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आस्था कलेजले १९ दशमलव ४ बलमा सबै बिकेट गुमाउँदै १ सय ३७ रन जोडेको थियो । आस्थाका लागि भूपाल दंगालले ७९ रनको उत्कृष्ट इनिङ खेले । ५६ बलको सामना गरेका उनले १० चौका र ३ छक्का प्रहार गरे । आशिष राणाले १८ रन बनाउँदा हिमांशु गिरीले १० रन बटुले । जवाफमा १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिम १८ दशमलव ३ बलमा सबै बिकेट गुमाउँदै १ सय १९ रनमा समेटियो । उक्त खेलमा भूपाल दंगाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा इटहरीको विश्व आदर्श र नमुना कलेजबीच प्रतिस्पर्धा हुँदा दोस्रो सेमिफाइनलमा मेहन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र आस्था कलेजबीच खेल हुने प्रतियोगिता संयोजक गौरव कटुवालले जानकारी दिए । कोशी प्रिमियर लिग सिजन दुईको च्याम्पियन टोली नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।