सनुसरी । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु अर्थहीन भएको बताएका छन्।
काठमाण्डौँबाट आज झापा आउनेक्रममा भद्रपुर विमानस्थलमा कुराकानी गर्दै ओलीले सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो। निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ।’
उनले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तो हुने टिप्पणी गरे।
उनले थपे, ‘यो अत्यन्तै आपराधिक मनोवृत्तिको, नेपाली समाजमा हुनै नहुने खालको काम भयो। दुःखलाग्दो कुरा, त्यति मानिसहरूको ज्यान गयो, अत्यन्तै दुःखद कुरा हो। यो एउटा दुःखद स्थिति भयो। अब त्यस स्थितिबाट देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई जोगाएर देशलाई राजनीतिक रूपले एउटा स्वतन्त्र राष्ट्रको रूपमा र आर्थिक हिसाबले आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि जानै पर्छ, उभिनै पर्छ।’

















