सुनसरी । उज्यालो नेपाल पार्टी क्षेत्र नम्बर २, सुनसरीले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपाल तामाङको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “सुशासन, समृद्धि र सामाजिक न्याय”लाई मूल नाराका रूपमा अघि सार्दै तामाङले राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामाजिक क्षेत्रका व्यापक सुधारका एजेण्डा सार्वजनिक गरेका हुन्।

संवैधानिक र राजनीतिक सुधार

प्रतिबद्धता–पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको व्यवस्था, प्रधानमन्त्रीले राम्रो काम नगरे फिर्ता बोलाउन मिल्ने (रिकल) प्रावधान, सांसद तथा मन्त्रीको शैक्षिक योग्यताको स्पष्ट मापदण्ड तय गर्ने जस्ता संवैधानिक सुधारका विषय समेटिएका छन्। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली बनाउने, संवैधानिक निकायमा योग्यताका आधारमा नियुक्ति गर्ने र भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने योजना प्रस्तुत गरिएको छ।

सुशासन र निर्वाचन सुधार

नागरिकले समयमै सेवा पाउने सुनिश्चितता, प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य संख्या घटाउने प्रस्ताव, मन्त्रिपरिषद् सानो बनाउने, प्रदेश मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने तथा स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने एजेण्डा अघि सारिएको छ। वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

पर्यटन, संस्कृति र शिक्षा

पर्यटन विकासतर्फ रामधुनी मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, तरतल्लो क्षेत्रमा पूर्वाधार विस्तार गर्ने, थारु संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गर्ने तथा प्रत्येक वडामा सार्वजनिक सिकाइ केन्द्र स्थापना गर्ने योजना उल्लेख छ।

शिक्षातर्फ निःशुल्क विश्वविद्यालय शिक्षा, सामुदायिक विद्यालय सुदृढीकरण र प्रत्येक विद्यार्थीका नाममा बचत खाता खोल्ने कार्यक्रम अघि सारिएको छ।

भौतिक पूर्वाधार र स्वास्थ्य

इटहरी–देवानगञ्ज सडक कालोपत्रे, इनरुवा–कोशी गाउँपालिका सडक निर्माण तीव्र पार्ने, डुबान तथा बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना लागू गर्ने र आवश्यक स्थानमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।

स्वास्थ्य क्षेत्रमा इटहरी अस्पताल स्तरोन्नति, रामधुनी र देवानगञ्जमा आधुनिक अस्पताल निर्माण, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।

कृषि, रोजगारी र सामाजिक सुरक्षा

कृषि क्षेत्रमा मल, बीउ, सिँचाइ र बीमा अनुदान डिजिटल प्रणालीमार्फत उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, ५० प्रतिशत क्षेत्र जैविक कृषि क्षेत्र घोषणा गर्ने तथा कृषि सहकारी स्टार्टअप फण्ड स्थापना गर्ने प्रस्ताव गरिएको छ।

“हरेक घरमा रोजगारी” अभियान, युवा रोजगार मेला, स्टार्टअप कोष, डिजिटल तथा आईटी सीप तालिम र प्रत्येक पालिकामा स्वरोजगार सीप विकास केन्द्र स्थापना गर्ने कार्यक्रम पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ।

सामाजिक सुरक्षाअन्तर्गत परिवार संरक्षण प्याकेज, भूमिहीनलाई आवास निर्माण, ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। खेलकुदतर्फ प्रत्येक पालिकामा रंगशाला तथा कभर्डहल निर्माण, खेलकुद प्रशिक्षण केन्द्र स्थापना र खेलाडी उत्पादनमा जोड दिइने बताइएको छ।

भ्रष्टाचारविरुद्ध कडा रुख

भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध, भ्रष्ट सम्पत्ति राष्ट्रियकरण, उजुरीदातालाई पुरस्कार कोष स्थापना तथा पीडितलाई न्याय दिलाउने स्पष्ट योजना अघि सारिएको छ।

उम्मेदवार तामाङले आफू निर्वाचित भए जनताको सेवा, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै सार्वजनिक प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।