काठमाडौँ- आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य यस्तै प्रकृतिले बनेका वास्तविक वस्तुहरू बोकेर हिँड्दा सुरक्षा जोखिम बढेको र सार्वजनिक शान्तिमा प्रतिकूल असर परेको गुनासो प्राप्त भएपछि यस्तो रोक लगाएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार उम्मेदवारहरूले कपडा, कागज, तुल वा फ्लेक्समा छापिएका वा प्रिन्ट गरिएका निर्वाचन चिह्नहरू मात्र तोकिएको मापदण्ड बमोजिम प्रयोग गर्न पाउनेछन्। तर, चुनाव चिह्नका रूपमा रहेका भौतिक वस्तुहरू (जस्तै: हलो, छाता, घण्टी वा अन्य ठोस सामग्री) सिधै बोकेर हिँड्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले स्पष्ट पारेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ङ) बमोजिम दलको झण्डा र चुनाव चिह्नको प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै आयोगले आम जनमानसको सुरक्षामा असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न सरोकारवालाहरूलाई सचेत गराएको छ। यदि कसैले आयोगको यो निर्देशन विपरीत भौतिक स्वरूपका चिह्नहरू प्रयोग गरेको पाइएमा आचारसंहिता उल्लंघन गरेको मानी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

640314044_1341619461334672_5279197296122516639_n