इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लालविक्रम थापा ले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राख्दै चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।

स्थानीय आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर तयार गरिएको प्रतिबद्धता पत्रले क्षेत्रीय समृद्धिको स्पष्ट खाका प्रस्तुत गरेको छ।

कृषि क्षेत्रलाई विकासको मेरुदण्ड मानेर थापाले आधुनिक र उत्पादनमुखी खेती प्रणाली विस्तार, किसानलाई उचित मूल्य सुनिश्चित गर्ने बजार व्यवस्था, भण्डारण केन्द्र निर्माण र प्रत्येक स्थानीय तहमा कृषि ल्याब स्थापना गर्ने योजना अघि सार्नुभएको छ।

सिंचाइ सुधार र सहरी पुनर्जीवनमार्फत उत्पादन वृद्धि गर्ने प्रतिबद्धतासमेत उल्लेख छ।

स्वास्थ्यतर्फ देवानगञ्जमा 15 शैयाको आधारभूत अस्पताल निर्माण, सबै स्वास्थ्य चौकीमा ल्याब सेवा, तथा इटहरीस्थित जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउने योजना छ।

शिक्षा क्षेत्रमा व्यवहारिक र परियोजनामुखी पठनपाठन, सूचना प्रविधि (आईटी) एकेडेमी स्थापना, खेलकुद पूर्वाधार विस्तार र विज्ञान–प्राविधिक शिक्षामा पहुँच बढाउने प्रतिबद्धता गरिएको छ।

थापाले विकास, सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई केन्द्रमा राख्दै उनले क्षेत्रीय आवश्यकताअनुसारका कार्यक्रम अघि सारेका छन्।

थापाले आधुनिक बसपार्क तथा पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, वनजंगल तथा प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थित उपयोगलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ।

यस्तै, वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ खानेपानीको सुनिश्चितताका लागि स्थानीय तहसँग समन्वय गरी दीर्घकालीन योजना सञ्चालन गर्ने जनाइएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, विपद् व्यवस्थापनको सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान, सीमा सुरक्षा तथा महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी पहल गर्ने उल्लेख गर्दै थापाले सामाजिक न्याय र समावेशितालाई आफ्नो एजेण्डाको केन्द्रमा राखेको बताएका छन्।

त्यस्तै, नागरिकसँग नियमित संवाद, सार्वजनिक सुनुवाइ र सूचना प्रवाहलाई पारदर्शी बनाउँदै जवाफदेही शासन प्रणाली स्थापना गर्ने उनको प्रतिबद्धता छ। सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निष्पक्ष पत्रकारिताका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने उल्लेख गरिएको छ।

थापाले “सुशासनसहितको समृद्धि र उत्तरदायी नेतृत्व” मार्फत सुनसरी–२ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने दाबी गरेका छन्। आगामी निर्वाचनमा मतदाताले आफ्नो कार्यक्रमलाई समर्थन गर्ने विश्वास व्यक्त गर्दै उनले जनताको साथ र सहयोगको अपिल गरेका छन्।