सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीका कुल १६७ मतदान स्थलमध्ये ५९ वटा ‘अति संवेदनशील’ घोषित गरिएको छ भने ६६ स्थललाई ‘संवेदनशील’ सूचीमा राखिएको छ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेले दिएको जानकारीअनुसार सबैभन्दा बढी अति संवेदनशील मतदान स्थल भोक्राहा–नरसिंह गाउँपालिका र बर्जु गाउँपालिका मा १०/१० वटा रहेका छन्। त्यसैगरी कोशी गाउँपालिका र हरिनगर गाउँपालिका मा ९/९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्।

त्यस्तै देवानगञ्ज गाउँपालिका मा ७, दुहबी नगरपालिका मा ६ र इनरुवा नगरपालिका मा ४ वटा मतदान स्थल अति संवेदनशील रहेको जानकारी दिइएको छ। गढी गाउँपालिका का ३ वटा मतदान स्थल पनि अति संवेदनशील सूचीमा छन्।

उत्तरी क्षेत्रको धरान उपमहानगरपालिका अन्तर्गत पर्ने हिमाली मावि देउराली मतदान स्थल एक मात्र अति संवेदनशील स्थलका रूपमा वर्गीकृत गरिएको छ। यद्यपि इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिका मा कुनै पनि मतदान स्थल अति संवेदनशील नरहेको, तर संवेदनशील मान्दै सुरक्षा रणनीति तयार पारिएको प्रहरीले जनाएको छ।

यसअघि २०७९ सालको निर्वाचनमा पनि यी अधिकांश मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका थिए। प्रहरीका अनुसार दक्षिणी क्षेत्रका हरिनगर, देवानगञ्ज, बर्जु, गढी, दुहबी तथा उत्तरी क्षेत्रका भोक्राहा–नरसिंह र कोशी गाउँपालिकाका मतदान स्थलहरू जोखिमको दृष्टिले उच्च प्राथमिकतामा पर्ने गरेका छन्।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरी सुरक्षा रणनीति लागू गरिएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि १५० भन्दा बढी नेपाल प्रहरी र ३,१४९ निर्वाचन प्रहरी परिचालन गरिनेछ।

सुरक्षाको दृष्टिले अति संवेदनशील र संवेदनशील क्षेत्रमा मोबाइल टोली, सशस्त्र प्रहरी बल तथा तेस्रो तहमा नेपाली सेना समेत परिचालन गरिने योजना रहेको छ।

प्रहरी प्रमुख थेबेले निर्वाचन अवधिभर सुरक्षाका सबै उपाय कडाइका साथ लागू गरिने, मतदाता तथा निर्वाचन सामग्रीको सुरक्षा सुनिश्चित गर्दै लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन्।