झापा । झापा(५ स्थित गौरीगन्ज तथा गौरादहका किसान यतिबेला धान रोप्ने चटारोमा छन्। बिहीबार  खेतमा पुग्दा रोपाइँसँगै उनीहरू नजिकै आएको चुनावबारे पनि छलफल गरिरहेका थिए। 


त्यहीँ भेटिइन् मतिमाया चौहान। उनी ६० वर्ष पुगिसकिन्। ३५ वर्षदेखि निरन्तर नेपाली कांग्रेसलाई भोट हालिरहेकी उनी यो वर्ष मत फेर्ने मनसायमा छिन्।


‘लामो समयसम्म एउटैलाई भोट हाल्यौँ तर हामीले भोट हालेको उम्मेदवारले कहिल्यै जितेनन्’, उनले भनिन्, ‘यो पटक गाउँमा नयाँ(नयाँ उम्मेदवार आएका छन् रे उसैलाई भोट हाल्ने हो।’

निर्वाचनको दिन नजिकिँदै गर्दा उनी चाँडै चोपाई सकेर भोट हाल्ने मनस्थितिमा छिन्। 

१६ कट्ठाको प्लटमा धार रोपिरहेकी मतिमायालाई भोलिका दिनमा निर्वाचित भएर आउने नेताले किसानलाई सहज मल, बिउ उपलब्ध गराइदिए हुन्थ्यो भन्ने लागेको छ।

चुनाव लागेको छ कि छैन भन्ने प्रश्नमा उनले भनिन्, ‘चुनाव पनि लागेको छ, खेती पनि त गर्नुपर्‍यो नि। भोलि, पर्सि त ढिला भइहाल्छ नि।’


ropai  1

गौरीगन्ज(३ ठेकीटोलाकी फूलकुमारी कबिरत पनि भोट माग्न हिँड्ने रहर हुँदाहुँदै पनि छोराछोरीलाई खुवाउन खेतमा पसिना बगाउनुपर्ने बाध्यता रहेको बताउँछिन्। 

भन्छिन्, ‘हामी त काम गर्ने मान्छे हो, तर आफ्नो देश विकास गर्न भोट हाल्न त जानै पर्छ। जसले हाम्रो दुःख बुझेर विकास गरिदिन्छ, उसैलाई यसपालि भोट दिने हो।’

उनले हर्क साम्पाङको श्रम संस्कृति पार्टी मन पर्ने बताइन्। रोपाइँकैबिच चुनाव र राजनीतिक झुकावबारे छलफल भइरहेको थियो। 


पहिले कांग्रेस(एमालेलाई मत दिइरहेकाहरू पनि यसपटक नयाँ विकल्पको खोजीमा छन्। पूर्णिमा मण्डलजस्ता युवा मतदाताहरू पनि नयाँ पार्टीले जितेको हेर्न चाहन्छन्।

कतिपयले त खुलेरै घण्टीमा भोट हाल्ने बताए।  पूर्णिमा भन्छिन्, ‘फागुन २१ गते चुनाव छ। म त भोट मात्रै हाल्न जाने हो, भोट माग्न त जान्नँ।’

धान रोपिरहेका किसान महिलाले यसपटकको चुनाव आफ्नो श्रमको मूल्य र गाउँको भविष्य बदल्ने एउटा अवसर ठानेको पाइयो।

२१ गतेको प्रतीक्षामा रहेका उनीहरू एकातिर हिलोमा भविष्यको अन्न रोपिरहेका छन् भने अर्कातिर मनमा परिवर्तनको बिउ पनि उमार्दै छन्।

उनीहरूको एउटै स्वर छ, ‘जसले विकास गर्छ, यसपालि उसैले मत पाउनेछ।’

ropai 1 1


झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्। ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र छन्।