सनुसरी । निर्वाचन आयोगले आज(आइतबार)देखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार उक्त निर्णय गरेको जनाएको छ।
सुरक्षाको समग्र अवस्थाको समीक्षा, वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन र सिफारिसका आधारमा गृह मन्त्रालय लाई आवश्यक निर्देशन दिइएको आयोगले उल्लेख गरेको छ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेधित कार्य हुन नदिन तथा उल्लंघन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

















