सुनसरी । कोशी प्रदेशका १८ वर्षीय युवा क्रिकेटर भुपाल कुमार दंगालले घरेलु क्रिकेटमा ऐतिहासिक प्रदर्शन गरेका छन् ।

उदयपुर विरुद्धको टुर खेलमा उनले अविजित दोहोरो शतक प्रहार गर्दै सबैको ध्यान तानेका हुन् ।

विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीका लागि मैदान उत्रिएका झापाका दंगालले १६२ बलमा २०५ रनको विस्फोटक इनिङ्स खेले ।

उनको इनिङ्समा १८ चौका र ८ छक्का समावेश थिए । यसक्रममा उनले १२६.५४ को स्ट्राइक रेट कायम गरे ।

दंगालको उत्कृष्ट ब्याटिङको बलमा विराटनगरले ५० ओभरमा ८ विकेट गुमाउँदै ४०६ रनको विशाल योगफल खडा गर्‍यो ।

पछि बलिङतर्फ पनि योगदान दिएका दंगालले ३ ओभरमा २ विकेट लिए ।

उदयपुरलाई २३९ रनको फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले टुर खेलमा शानदार जित दर्ता गर्‍यो ।

युवा उमेरमै दोहोरो शतकसहित अलराउन्ड प्रदर्शन गरेका दंगालको यो खेललाई नेपाली घरेलु क्रिकेटको स्मरणीय उपलब्धिका रूपमा हेरिएको छ ।