सुनसरी । इरानी ड्रोन आक्रमणका क्रममा मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।
मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको मृत्युबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। दूतावासले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
परिस्थिति सहज भएपछि पार्थिव शरीर यथाशीघ्र स्वदेश ल्याउन आवश्यक सबै सहजीकरण गरिने पनि दूतावासले जनाएको छ। यसैबीच, इरानी आक्रमणमा यूएईमा नेपालीसहित नेपाल, बंगलादेश र पाकिस्तानका एक–एक जना गरी तीन जनाको मृत्यु भएको यूएईको रक्षा मन्त्रालयले जनाएको छ।
दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा रहन र सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ।

















