सुनसरी — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामचन्द्र ठाकुर नामको फेसबुक आईडीबाट निर्वाचनलाई प्रभाव पार्ने आशयका भिडियो अपलोड तथा सेयर गरी समाजमा भ्रम सिर्जना गर्ने कार्य गरिएको पाइएको थियो।

उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी साइबर ब्यूरोको प्राविधिक सहयोगमा उनलाई अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससहित इनरुवा महेन्द्रचोकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका ठाकुरलाई जिल्ला प्रहरी सुनसरीमा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले निर्वाचनजस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमा भ्रामक तथा अपुष्ट सामग्री पोस्ट वा सेयर नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।