विराटनगर । प्रतिस्पर्धी भन्दा १० हजार भन्दा बढि मतले पछाडि परेपछि पर्व मन्त्री अमनलाल मोदीले हार स्वीकार गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका मोदीले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पराजय स्वीकार गरेका छन्।
मोदीले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार सन्तोष राजवंशीलाई बधाई दिएका छन्। सो क्षेत्रमा रास्वपाका राजवंशीले अहिले सम्म १९९१६ मत पाएका छन् । मोदीले भने ९०१९ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रे्सका महामन्त्री गुरुराज घिमिरे छन् ।
घिमिरेले ७२९६ मत पाएका छन् । एमालेका जीवन घिमिरेले भने ४२६७ मत पाएका छन् । मोदीले उनले रास्वपाले देशव्यापी रूपमा हासिल गरेको ‘अभूतपूर्व जित’ को समेत प्रशंसा गरेका छन्।
मोदीले लेखेका छन्, “मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु। उनले आफूलाई ‘तारा’ चिह्नमा मतदान गर्ने मतदाता, पार्टीका कार्यकर्ता र शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनको परिणामबाट विचलित नभई आत्म समीक्षा गरेर पार्टीलाई अझ सशक्त बनाउनुपर्नेमा उनले जोड दिएका छन्।उनले लेखेका छन्, “अन्त्यमा म हारे पनि देश र जनता कहिल्यै नहारोस्।”
















