सुनसरी । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ धेरै सिटमा अग्रता लिएको रास्वपाले समानुपातिकतर्फ पनि अग्रता लिएको छ । 


निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार २ लाख ६३ हजार ९०५ मत गनेर सकिँदा रास्वापले १ लाख ४२ हजार ६३३ मत पाएको छ। नेपाली कांग्रेसले अहिलेसम्म जम्मा ४३ हजार ५६४ मत ल्याएर दोस्रो स्थानमा छ ।  


सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले समानुपातिक तर्फको मतमा तेस्रो स्थानमा हुँदा राप्रपा चौथो स्थानमा छ। 


एमालेले अहिलेसम्म समानुपातिकतर्फ ३२ हजार ७१० प्राप्त गरेको छ भने राप्रपाले १२ हजार ३४८ मत ल्याएको छ। 


पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा समानुपातिक मतमा राप्रपा भन्दा पनि पछि छ। उसले अहिलेसम्म १२ हजार ३२० मत पाएको निर्वाचन आयोगले जनाएको छ। 


त्यसैगरि हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ६ हजार ८६१ मत ल्याउँदा राष्ट्रिय परिवर्तन पार्टीले ४ हजार ५१९ मत ल्याएको छ।  


०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो। त्यसपछि क्रमशः कांग्रेस, तत्कालीन माओवादी र रास्वपाले मत ल्याएका थिए।