सुनसरी — सुनसरी–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी खेल मैदानबाट संसद्सम्मको यात्रा तय गर्न सफल भएका छन् ।

२०७९ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका चौधरीको यसपालिको निर्वाचनबाट दोस्रो पटक संसदीय यात्रा तय गर्न सफल भएका छन् ।

सुनसरी–३ बाट  रास्वपाको प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका चौधरीले बलिया प्रतिस्पर्धीलाई भारी मतान्तरले पाखा लगाउँदै निर्वाचित भए ।

४२ वर्षीय चौधरीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई २६ हजार ९ सय २० मतान्तरले पराजित गर्दै निर्वाचित भए ।

चौधरीले ४७ हजार ४ सय २१ मत प्राप्त गर्दा गच्छदारले २० हजार ५ सय १ मत ल्याए ।

यसअघिको निर्वाचनमा गच्छदारलाई पहिलो पटक पराजय ब्योहोर्न बाध्य बनाएकी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी तेस्रो स्थानमा रहँदै १५ हजार ८३.मत मात्र ल्याइन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ लामो समयदेखि विजय गच्छदारको राजनीतिक प्रभावले चिनिने क्षेत्र हो ।

२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका गच्छदार २०७९ को निर्वाचन बाहेक प्रायः अपराजित जस्तै देखिए ।

सत्ता समीकरण बदलिँदा पनि प्रभाव जोगाइराख्ने क्षमता, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर, र केन्द्रमा पहुँच- यी सबैले उनलाई ‘सदाबहार शक्ति’को छवि दिलायो । तर, उनको यो छवि र शक्तिलाई अशोकले कमजोर बनाइदिएका छन् ।

अशोक आफ्नै गृह क्षेत्र सुनसरी-२ बाट चुनाव लड्न चाहन्थे । तर, रास्वपा पार्टी अध्यक्ष रवि लामिछानेसँग निकट सम्बन्ध रहेका कोशी प्रदेश महामन्त्री लालविक्रम थापाले टिकट पाएपछि उनी सुनसरी-३ बाट उम्मेदवार बनेका हुन् ।

खेलकुद क्षेत्रबाट सार्वजनिक जीवनमा परिचित बनेका चौधरी पछिल्ला वर्षहरूमा राजनीतिमा सक्रिय हुँदै संसद्सम्म पुग्ने नेताको रूपमा चिनिन्छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-५ पचरुखीका स्थायी बासिन्दा चौधरीको प्रारम्भिक पहिचान खेलाडीका रूपमा बनेको थियो ।

विश्वकै प्राचीन खेल डोरीतान अर्थात ‘टग अफ वार’ खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका थिए । सन २०१९ को १४ औं एसियन टग अफ वार च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागिता जनाएका उनी हाल नेपाल डोरीतान संघका सल्लाहकारसमेत रहेका छन् ।

उक्त खेलको उनी राष्ट्रिय रेफ्रीसमेत हुन् ।

खेलकुद क्षेत्रमा लामो समय सक्रिय रहँदा उनले खेलाडीको हकहित, खेल पूर्वाधार र अवसर विस्तारका विषयमा पटक पटक आवाज उठाउँदै आएका थिए ।

खेलकुदमार्फत सामाजिक गतिविधिमा सक्रिय रहेका चौधरीले क्रमशः राजनीतिक यात्रातर्फ कदम बढाए ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनले सुनसरी–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै औपचारिक रूपमा राजनीति प्रवेश गरेका थिए ।

त्यसपछि उनी परिवार दल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपामा आबद्ध भएपछि चौधरीको राजनीतिक सक्रियता झन् बढ्यो । पार्टीको संगठन विस्तार, स्थानीय स्तरमा जनसम्पर्क र युवामुखी राजनीतिक अभियानमा उनी सक्रिय रहँदै आएका छन् ।

सुशासन, पारदर्शिता र विकासमुखी राजनीति आफ्नो मुख्य एजेन्डा भएको उनको भनाइ रहँदै आएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि चौधरी संघीय संसद्‌मा प्रवेश गरेका थिए ।

संसद्‌मा रहँदा उनले विशेषगरी खेलकुद क्षेत्रको विकास, युवाको रोजगारी, शिक्षा तथा स्थानीय पूर्वाधार विकासका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

खासगरी उनले इटहरी उपमहानगरपालिकामा हुने गरेको अनियमितता, ढिलासुस्ती, बाढी तथा डुबानको विषयमा संसद्‌मार्फत पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली राजनीतिको चर्चित निर्वाचन क्षेत्र मानिएको सुनसरी-३ बाट नयाँ राजनीतिक विकल्पको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका चौधरी आफ्नो जीतलाई जनताको परिवर्तन ठान्दछन् ।

खेल मैदानबाट सुरु भएको चौधरीको सार्वजनिक यात्रा अहिले संसद् र राष्ट्रिय राजनीतिसम्म आइपुगेको छ ।

उनले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि र परिवर्तनमुखी राजनीतिको पक्षधर नेताका रूपमा रहँदै जनमुखी काम गर्ने बताए ।