सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक कुमार साह फराकिलो जीत निकालेका छन् ।
शाहले ४२ हजार ७७१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत ल्याएका छन् ।
शाह र कार्कीबिचको मतान्तर २६ हजार १८४ रहेको छ । यसअघि लगातार दोस्रो जीत हात पार्दै यस पटक ह्याट्रिक गर्ने कार्कीको यात्रालाई शाहले ब्रेक लगाइदिएका छन् ।
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा पराजित बनेका नेकपा एमालेका जगदीश कुशियेतले यस पटक ८ हजार ६३१ मत मात्र पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका मोहम्मद महफुज अन्सारीले ३ हजार ४३२ र श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत प्राप्त गरेका छन् ।
१ लाख ३७ हजार ३ सय ४० मतदाता रहेको यो क्षेत्रबाट ८३ हजार ६४० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
सुनसरी ४ को अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जिल्लाको चार वटै क्षेत्रको प्रत्यक्ष तर्फको गणना सकिएको छ ।
क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, क्षेत्र नम्बर २ मा रास्वपाका लालविक्रम थापा र क्षेत्र नम्बर ३ मा अशोक चौधरी निर्वाचित भैसकेका छन् ।














