सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी कार्य जारी रहेको जनाएको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ का फुर्वा शेर्पा रहेका छन्।

असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी गालीगलौज तथा अपमानजनक टिप्पणी गर्दै चरित्रहत्या गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पीडित पत्रकार महिलाले शेर्पाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय धरानमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७(१) बमोजिम कसुरमा जाहेरी दर्ता भएको छ।

प्रहरीका अनुसार शेर्पाले फेसबुकमा गलत तरिकाले सामग्री पोस्ट गर्दै अपमानजनक अभिव्यक्ति दिएका थिए।

उक्त घटनामा संलग्न अन्य चार जनाविरुद्ध पनि जाहेरी परेको छ।

प्रहरी नायव उपरीक्षक भिषणबाबु राईका अनुसार घटनामा संलग्न निशा राई, सन्देश खालिङ, अगम राई र पूर्ण तामाङको खोजी कार्य जारी छ।