सुनसरी । जल तथा मौसम विज्ञान विभागको चेतावनीपछि धनकुटामा स्थानीय प्रशासनले सतर्कता सूचना जारी गरेको छ ।

विभागले शुक्रबार र शनिबार धनकुटा, धरान र विराटनगर लगायतका क्षेत्रमा शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागका अनुसार हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मेघगर्जन सहित चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ । यसैबिच इटहरी उपमहानगरपालिकाले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले सुचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको हो । 

यसैबिच सशस्त्र प्रहरी बल नेपालअन्तर्गत छिन्ताङ गुल्म धनकुटाले जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ।

गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलका अनुसार धनकुटा बजारसँगै मूलघाटस्थित बेस क्याम्पबाट समेत सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ।