विराटनगर । मोरङका विभिन्न स्थानमा वर्ड फ्लु को सङ्क्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा र उर्लाबारी नगरपालिकामा कुखुरामा लाग्ने वर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
नगरपालिकाको वडा नम्बर ४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको र आसपासका क्षेत्रमा समेत कुखुराहरूमा लक्षण देखिएर मर्ने क्रम बढेपछि नगरपालिकाले कुखुराजन्य वस्तु ओसारपसारमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै रोगको थप फैलावट रोक्न र सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि विभिन्न ७ बुँदे निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।
यस्तै मोरङको उर्लाबारीस्थित एक पोल्ट्री फार्ममा पनि एचफाइभ एनवान बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । उर्लाबारी–८ स्थित अठियावारि कृषि फर्म प्रा लिमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो ।
नगर पालिकाहरूले अर्को सूचना जारी नभएसम्मका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अन्डा, मासु, दाना र फार्ममा प्रयोग हुने उपकरणहरूको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कुखुरा पालक कृषकहरूलाई आफ्ना फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन र प्रवेश तथा निकास बिन्दुमा चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानी जस्ता निसंक्रामक वस्तुहरूको अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार, सङ्क्रमित वा शङ्कास्पद पशुपन्छीहरूको व्यवस्थापन प्रचलित मापदण्ड अनुसार सुरक्षित रूपमा गरिनेछ। स्थानीय बजार तथा मासु पसलहरूलाई समेत सरकारी निकायबाट हुने अनुगमन र निर्देशनहरूको पूर्ण पालना गर्न सूचित गरिएको छ।
यस घातक रोगको सङ्क्रमण नियन्त्रणका लागि सम्पूर्ण नगरवासीहरूको सहयोगको अपेक्षा गर्दै नगरपालिकाले थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
















