विराटनगर। विराटनगरमा यस वर्ष पनि श्री जगन्नाथ रथयात्रा भव्य रूपमा आयोजना हुने भएको छ। इस्कोन (ISKCON) विराटनगरको आयोजनामा आगामी चैत्र १४ गते शनिबारका दिन यो धार्मिक उत्सव सञ्चालन गर्न लागिएको हो। आयोजकका अनुसार उक्त दिन बिहान १०:०० बजेदेखि रथयात्राको विधिवत प्रारम्भ हुनेछ। हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने यस रथयात्राका माध्यमबाट भक्तजनहरूले आफ्नै घरदैलोमा भगवान श्री जगन्नाथको दर्शन गर्ने, आरती गर्ने र रथको डोरी तान्ने सौभाग्य प्राप्त गर्नेछन्। यो पर्वले धार्मिक आस्था र सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
यस पटकको रथयात्रामा नेपालका विभिन्न स्थानका साथै विदेशबाट समेत ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई थप उल्लासमय र आध्यात्मिक बनाउन भजन–कीर्तन, विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र महाप्रसाद वितरणको समेत विशेष व्यवस्था गरिएको छ।
रथयात्राको मार्ग इस्कोन विराटनगरबाट सुरु भई नगरका मुख्य चोकहरू जलजला चोक, पञ्चमुखी हनुमान मन्दिर, भट्टी चोक, बरगाछी, तिनपैनी, श्याम मन्दिर र कोशी अस्पताल हुँदै पुनः इस्कोन परिसरमै पुगेर समापन हुनेछ। आयोजक संस्थाले सम्पूर्ण नगरवासी, श्रद्धालु तथा भक्तजनहरूलाई रथयात्रामा सहभागी भई धर्मलाभ लिन हार्दिक निमन्त्रणा समेत गरेको छ।