विराटनगर । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको काम ठप्प भएको छ । त्यहाँ कार्यरत मजुदुरहरु आन्दोलनमा उत्रिएपछि जलविद्युत आयोजनाको काम ठप्प भएको हो । सो जल विद्युत् आयोजनाको निर्माण गर्ने ठेक्का भारतीय कम्पनी पटेल इन्जिनियरीङ्गले पाएको छ । सो कम्पनीले त्यहाँ कार्यरत मजदुरको ज्याला रोकेपछि ज्याला पाउनु पर्ने माग राख्दै मजदुरहरू आन्दोलनमा उत्रिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत् आयोजनाको हो । सो आयोजनाको विद्युतगृह निर्माणमा कार्यरत मजदुरले ६ महिनादेखि ज्याला पाउन सकेका छैनन् ।
निर्माण कम्पनीले पेटी ठेकेदारहरूलाई समेत भुक्तानी गरेको छैन । पेटी ठेकेदारले भुक्तानी नपाएको भन्दै मजदुरको समेत ज्याला रोकपछि आन्दोलन सुरु भएको हो ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले ज्याला नपाएको गुनासो पटक पटक आएको बताइन् । उनले भनिन् हामीले ज्यालाको समस्या समाधान गर्नुस् भनेर भनेका हौ । तर अहिले सम्म समस्या समाधान भएको जानकारी आएको छैन । थपलियाले यस अघि भएका बैठकहरूमा पटेल इन्जिनियरीङ्का सिइयोलाई समेत यस विषयमा कुरा गरेको बताइन् । उनले भनिन् हामीले भन्दा भन्दै पनि ज्यालाको समस्या समाधान नभएको बुझिएको छ । यस विषयमा हामी थप कुरा गर्ने छौ । अरुण तेस्रोमा एक हजार भन्दा बढी मजदुरहरू कार्यरत रहेका छन् । ती मध्ये कतिले ज्याला पाएको र कतिले नपाएको भन्ने विवरण आफूहरूसँग नभएको बताइन् ।
नौ सय मेगावाटको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको ड्याम फ्याक्सिदा र विद्युतगृह पखुवा क्षेत्रमा भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च एक खर्ब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च एक खर्ब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए। विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो।

















