विराटनगर। सुनसरीका विभिन्न सरकारी कार्यालयहरूबाट एक दर्जन बढी बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, यातायात, मालपोत तथा जिल्ला प्रशासन कार्यालय आसपासमा रहेर बिचौलियाको भूमिकामा रहेका उनीहरूलाई नियन्त्रणमा  लिएको हो। सार्वजनिक  सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले ५ जनालाई यातायात कार्यालयबाट पक्राउ गरेको छ। नागरिकलाई रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने ५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान गरिहरेको छ । उनीहरूको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । 
त्यस्तै सर्वसाधारणको धेरै भिडभाड हुने मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समेत आधा दर्जन बढी बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए।  उनीहरूलाई अहिले नियन्त्रणमा लिएर उनीहरूको यकिन गर्ने काम भइरहेकोले प्रहरीले उनीहरूको यकिन सङ्ख्या र विवरण खुलाएको छैन।
पछिल्लो समय मालपोत, नापी, यातायात लगायतका कार्यालयहरूमा बिचौलियाले सर्वसाधारणलाई दुख दिने गरेको आरोप लाग्दै आएको छ।  पक्राउ परेका ब्यक्तिहरुको बारेमा बिस्तृत तथ्यांक आउन बाँकी छ।