सुनसरी — दमक भेट्रान क्लबले छैटौं संस्करणको अन्तर्राष्टि्रय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा दमक भेट्रानले धरान भेट्रान क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 
दमकका लागि तेजेन्द्र श्रेष्ठले पहिलो गोल गरे । दमकले अर्को गोल धरानबाट आत्माघाती उपहार पाएको थियो । प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा तेजेन्द्रको गोलबाट अग्रता लिएको दकमले खेलको अन्तिम ३ मिनेटको अतिरिक्त समयमा धरानका कप्तान सुमन श्रेष्ठले आत्मघाती गोल गरेका थिए । 
उद्घाटन खेलको म्यान अफ द म्याच दमकका गोलकिपर पंकज केसी भए । उनले धरानका आधा दर्जन प्रहारलाई विफल तुल्याएका थिए । सोमबारको दोस्रो क्वाटरफाइनल खेल पथरी भेट्रान र मिल्स भेट्रान विराटनगरबीच हुने आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जनाएको छ । 
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

















