सुनसरी । मलेसियाको आरटीएफसी सुनसरीको वराहक्षेत्रमा जारी नवौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार क्लबको आयोजनामा स्थानीय भरौल खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको दोस्रो क्वाटरफाइनलमा इटहरीको योङ ब्रदर्श क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आरटीएफसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
आरटीएफसीको जीतमा विशाल भण्डारी र अबोयामी फकुन्लेले एक एक गोल गरे ।
पहिलो हाफमा योङ ब्रदर्शलाई दबाबमा राखेको आरटीएफसीको आधा दर्जन प्रहार विपक्षी गोलकिपर विश्वास चौधरीले विफल पारेपछि नतिजा आफ्नो पक्षमा पार्न उसलाई दोस्रो हाफसम्म कुर्नुपर्यो ।
दोस्रो हाफको तेस्रो मिनेटमा विशालले सौरभ सुब्बाको कर्नर प्रहारमा आकर्षक हेड गोल गरेर आफ्नो टिमलाई १–० को अग्रतामा ल्याए ।
दोस्रो हाफको २८ औँ मिनेटमा फकुन्लेले गोलकिपर विश्वास चौधरीलाई बिट गर्दै गोल गरेपछि खेल २–० को अवस्थामा आयो ।
बाँकी समय कुनै गोल हुन नसकेछी खेलको यही नतिजाले आरटीएफसीलाई अन्तिम चारमा पुर्यायो ।
खेलको म्यानअफ द म्याच आरटीएफसीका विशाल घोषित हुँदै नगद ५ हजार हात पार्न सफल भए ।
प्रतियोगिता अन्तर्गत बुधवारको तेस्रो क्वाटरफाइनल खेल जर्जियन फुटबल क्लब भारत र प्लानिङ ब्वाइज युनाइटेड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
चैत्र २९ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशी क्लब सहित ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

















