सुनसरी । भारतीय नम्बर प्लेटका सवारी चालकहरुले एक दिनको भन्सार पास बनाएर नेपालमै लामो समय बस्दा नेपाली यातायात व्यवसायी संकटमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बताएकी छिन् ।
बुुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले भारतबाट नेपाल प्रवेशका गर्न एक दिनको लागि भन्सार पास बनाएर नेपालमा नै लामो समय संचालन हुने गरेका सवारी साधनहरूलाई नियमन गर्नुपर्ने माग गरिन् ।
एउटा प्रयोजनका लागि लिइएको पासलाई अर्कै प्रयोजनमा प्रयोग भइरहेको सांसद डाँगीले बताइन् ।
भारतीय सवारीको दुरुपयोग रोक्न सरकारले पहलकदमी लिनुपर्ने सांसद डाँगीको भनाइ थियो । ‘भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाल दुरुपयोग भइरहेको छ ।
नियमअनुसार १ दिनको भन्सार ‘डे पास’ लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वनजिक रूपमा संचालन भइरहेका हुन्छन्,’ सांसद डाँगीले भनिन्, ‘यसले गर्दा उच्च भन्सार तिरेर संचालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको छ ।’
नेपाली चालक र व्यवसायीहरू संकटमा परिरहेका छन्,’ उनले भनिन्, ‘भारतीय गाडीले नेपालमा कुनै पनि दुर्घटना गरेमा क्षतिपूर्ति पाउनसमेत उत्तिकै समस्या परिरहेको छ ।’
सीमानाकामा कडाइका साथ अनुगमन गरियोस्, ‘डे पास’को दुरुपयोग तत्काल रोकियोस् र सीमा क्षेत्रमा नेपाली यातायात व्यवसायीको संरक्षण गरियोस् भनेर सांसद डाँगीले माग गरेकी छिन् ।

















