विराटनगर। विराटनगरको पोखरिया माध्यमिक विद्यालय अगाडि केही मानिसहरू समूह समूहमा बसेर विद्यार्थीलाई बोलाउँदै थिए। कोही आफ्नो क्याम्पसको बारेमा सुझाउँदै थिए, कोही कन्सल्टेन्सीमा दिइने सेवा सुविधा तथा पढाइने विषयहरूको बारेमा विद्यार्थीहरूलाई आफ्ना कुराहरू राख्दै थिए। परीक्षा दिएर निस्किँदै गरेका विद्यार्थीहरू मानसिक रूपमा तनावमा थिए नै उनीहरू थप तनाव थप्दै गरेको अवस्थामा देखिन्थे। त्यही भिडभाडमा भेटिए एउटा समूहका विद्यार्थीहरूलाई आफ्नो कन्सल्टेन्सीको बारेमा जानकारी दिँदै गरेका अमन मण्डल। सत्यनारायण माध्यमिक विद्यालयका विद्यार्थीहरू सागर मण्डल र रविश यादव उनले भनेका कुरा सुन्थे तर बुझ्दैनथे।
`तपाईँहरूको कन्सल्टेन्सीबाट जापान जान पाइन्छ?´ ती विद्यार्थीको प्रश्न थियो। जवाफमा अमन भन्दै थिए, `किन नपाउनु तपाईँहरूकै लागि त हो, यसका लागि भाषा पढ्नुपर्छ। त्यसका लागि एन -५, एन-६ सम्म भाषा जान्नुपर्छ।´ भर्खरै एसइई दिँदै गरेका विद्यार्थीहरूको लागि यो नयाँ विषय थियो। तर विद्यार्थीहरूलाई फकाउने, प्रलोभनमा पार्ने, आश्वासन दिने लगायतका कामहरू कन्सल्टेन्सी तथा विभिन्न `प्लस टु´का नाममा नाममा आएका केही व्यक्तिहरूले गर्दै थिए।
अर्जुन शर्मा नाम गरेका अर्का व्यक्ति पनि त्यहीँ भेटिए। उनले पनि त्यसै गरी २-३ जना विद्यार्थीहरूलाई समूहमा राखेर आफ्नो कन्सल्टेन्सीको काम पढाउन थाले। भोकाएर परीक्षा हलबाट निस्किँदै गरेका विद्यार्थीलाई कम्प्युटर पढाउने, भाषा सिकाउने बारेमा उनी जबरजस्ती बुझाउन खोज्थे। उनीहरूको नम्बर धमाधम माग्दै थिए।
यसरी एसइई परीक्षा केन्द्रको अगाडि आउने यी व्यक्तिहरूले आफूलाई कन्सल्टेन्ट तथा शिक्षकको रूपमा परिचित गराउने र कतिपयले आफूलाई कन्सल्टेन्सी सञ्चालक समेत भन्ने गरेका छन्। त्यहाँ भेटिएका अमन मण्डलले आफूलाई कन्सल्टेन्सी सञ्चालक भन्न भ्याए। अर्का अर्जुन शर्माले भने आफूलाई कन्सल्टेन्टको रूपमा मात्रै उभ्याए।
यी त केही उदाहरण मात्र हुन्। यसरी हरेक दिन एसइई परीक्षा केन्द्र अगाडि प्लस टु सञ्चालन गर्दै आएकाहरू, कन्सल्टेन्सी सञ्चालकहरू, इन्स्टिच्युट सञ्चालकहरूले आफ्ना प्रतिनिधि पठाउने गरेका छन्।
यसरी आएका प्रतिनिधिहरूले हरेक दिन विद्यार्थीहरूलाई भेट्छन् उनीहरूलाई आफ्नो बारेमा सुनाउँछन् र सम्पर्क फोन नम्बर लिएर जान्छन्।

एसइई परीक्षा सञ्चालन भइरहेको पोखरिया , आदर्श, आदर्श बालिका मावि, सत्यनारायण माध्यमिक विद्यालय, गोग्राह माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय तथा सुकुना माध्यमिक विद्यालय र सरस्वती मावि झोराहाटमा समेत यसै गरी विद्यार्थी फकाउनेहरूको भिड लागेको छ।
यसले विद्यार्थीहरूलाई थप तनाव सिर्जना गरेको छ। एक त एसइई परीक्षा चलिरहेको समयमा परीक्षा हलबाट बाहिरिने बित्तिकै उनीहरूको अर्को मानसिक पीडा खेप्नु परेको विद्यार्थीले बताएका छन्।
विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं केन्द्रध्यक्ष खेमराज भट्टराईले केन्द्र बाहिरको यस्तो गतिविधिले शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पारेको बताए। `कन्सल्टेन्सी, निजी कलेजहरूले गेटमै आएर विज्ञापन गर्ने र प्रचार सामाग्री बाँड्ने गरिरहेका छन्,´ उनले भने, `यस्तो अस्वस्थ प्रतिस्पर्धाले सामुदायिक विद्यालयलाई प्रत्यक्ष मार परेको छ।´
शिक्षा मन्त्रालयको नियम अनुसार परीक्षा केन्द्रको निश्चित क्षेत्रभित्र कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन। तर, विराटनगरका अधिकांश केन्द्र बाहिर निजी शिक्षण संस्थाहरूको बाक्लो उपस्थिति देखिन्छ। मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई प्रहरी लगाएर हटाउन सकिने बताए पनि व्यवहारमा त्यस्तो देखिएको छैन।
परीक्षा सकिने समयमा उत्तर पुस्तिका व्यवस्थापन र अन्य आन्तरिक काममा विद्यालय प्रशासन व्यस्त हुने गर्छ। यही मौका छोपेर गेट बाहिर कन्सल्टेन्सीहरूले भीड जम्मा पार्ने गरेका छन्।
शिक्षा विकास निर्देशनालय धनकुटाका प्रमुख कृष्णप्रसाद पोखरेलले यस्ता गतिविधि गर्नु गैर कानुनी भएको बताएका छन्। उनले भने, `अहिले यस्ता गतिविधि गर्न पाइँदैन गरेको पाइएमा कारबाही हुन्छ। यस विषयमा मन्त्रालयले काम गरिरहेको छ।´
सामाजिक विकास मन्त्रालयको शैक्षिक प्रशासन महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले परीक्षा केन्द्र बाहिर विद्यार्थीलाई दुःख दिने र प्रभावमा पार्न खोज्ने कार्य पूर्णतः गैर कानुनी भएको बताइन्। उनका अनुसार शिक्षा मन्त्रालयले यसअघि नै यस्ता गतिविधि नगर्न पटक-पटक सार्वजनिक सूचना र निर्णय गरिसकेको भए पनि यदि यस्ता गतिविधि गरेको पाइए कारबाही हुन्छ।
मन्त्रालयमा यसबारे औपचारिक जानकारी प्राप्त नभए पनि अब तत्कालै एउटा सार्वजनिक सूचना जारी गरेर यस्ता कार्यलाई निषेध गरिने उनले प्रतिबद्धता जनाइन्।
विद्यार्थीलाई धम्काउने वा त्रसित गराएर कतै भर्ना गर्न , दबाब दिन नपाइने स्पष्ट पार्दै यदि कसैले त्यसो गरेको पाइएमा प्रहरी लगाएर नियन्त्रणमा लिन सकिने मन्त्रालयको जवाफ छ।

















