विराटनगर । सङ्घीय सरकारले इन्धन बचाउन र खर्च घटाउन भन्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा सिंहदरबारले सायद काठमाडौँका चिल्ला सडक र सवारी साधनको सुविधालाई मात्रै केन्द्रमा राख्यो। तर, जब यो निर्णय ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जस्ता दुर्गम भूगोलमा पुग्यो, तब यसले राहत होइन, सास्ती निम्त्यायो। फलस्वरूप, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सङ्घीय निर्णयलाई चुनौती दिँदै आइतबारको बिदा नमान्ने गरी पुरानै व्यवस्था कायम गर्ने निर्णय गरेको छ।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार, कार्यपालिका बैठकले व्यवहारिक कठिनाइकै कारण आइतबार बिदा नदिने निष्कर्ष निकालेको हो। `काठमाडौँ उपत्यका र सहरी क्षेत्रका लागि यो नियम ठिक होला, तर हाम्रो भूगोलमा ९ बजे कार्यालय पुग्न कर्मचारी र सेवाग्राही बिहानै साढे ६ बजे घरबाट हिँड्नुपर्छ,´ अध्यक्ष पोमु भन्छन्, `बिहान ७ बजे त उठ्दा उठ्दै ठिक्क हुन्छ, अनि कति बेला खाना खाएर हिँड्नु? यो निर्णय हाम्रो लागि व्यवहारिक नै भएन।´
भौगोलिक विकटता यतिसम्म छ कि पालिकाका केही कर्मचारी र सेवाग्राहीलाई कार्यालय पुग्नै दुई देखि तीन घण्टासम्म पैदल हिँड्नुपर्छ। फुङलिङदेखि हिँडेर आउने कार्यालय सहयोगी हेमकर्ण जस्ता कर्मचारीहरू साढे ६ बजे नै बाटो लाग्नुपर्ने बाध्यता छ।
अध्यक्ष पोमु स्थानीय तह पनि आफैँमा एउटा सरकार भएको कारण यसले आफ्नो क्षेत्रको आवश्यकता अनुसार निर्णय गर्ने अधिकार राख्ने बताउँछन्। `काठमाडौँ मात्रै नेपाल होइन, उनी भन्छन्, `हाम्रो परिवेश र भूगोल फरक छ। सङ्घीय सरकारको सबै निर्णय आँखा चिम्लेर लागू गर्दा जनताले दुःख पाउँछन् भने त्यस्तो निर्णयको के अर्थ?´
विशेष गरी आर्थिक वर्षको अन्त्यतिर कामको चाप बढ्ने समय, त्यसमाथि निर्वाचन र विभिन्न कारणले सुस्त बनेको विकास निर्माणलाई गति दिन पनि आइतबार कार्यालय खोल्नु अनिवार्य देखिएको उनले बताए। चैत, वैशाख र जेठ महिना मुख्य काम गर्ने समय भएकाले बिदा थपेर समय खेर फाल्ने पक्षमा गाउँपालिका छैन।
सर्वसाधारण सेवाग्राहीको मर्कालाई ध्यान दिएर आठराई त्रिवेणीले सातामा ६ दिन नै सेवा दिने र कार्यालय समय पनि बिहान १० देखि ५ बजेसम्म नै कायम गर्ने निर्णय गरेको छ।

















