इटहरी । इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक हाम्रो भेट्रान इटहरी फाइनलमा प्रवेश गरेको छ । गोलकिपर सुनिल स्याङ्दान तामाङको उत्कृष्ट प्रदर्शनले इटहरीलाई उपाधि नजिक पुर्याएको हो ।
जनता क्याम्पसको खेलमैदानमा बिहिबार भएको खेलमा इटहरी र दमक भेट्रान लखनपुर, झापा बीच निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निर्णायक क्षणमा गोलकिपर तामाङले उत्कृष्ट बचाउ गर्दै इटहरीको फाइनल यात्रा सुनिश्चित गराएका हुन् ।
खेलको म्यान अफ द म्याच पनि सुनिल तामाङ नै घोषित भएका छन् ।
अब इटहरीले उपाधिका लागि मिल्स भेट्रान विराटनगर र हाम्रो धरान भेट्रानबीच आज शुक्रबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी, सिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, सिल्ड र मेडल पाउनेछन् ।

















