सुनसरी । इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकपको उपाधी आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ ।
आज(शनिबार)को फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगरलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधी जितेको हो ।
खेलको दोस्रो हाफमा २ गोल गर्दै लिएको अग्रता इटहरीको लागि निर्णयक बन्यो । २ गोलले पछि परेको मिल्स भेट्रानले जवाफी गोल फर्काउन नसक्दा खेल हार्न पुगेको हो ।
प्रतियोगिताकोउपाधी जितेको इटहरी भेट्रानले एक लाख रुपैयाँ नगदसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको मिल्स भेट्रानले ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ ।
मिल्स भेट्रान हाम्रो भेट्रान धरानलाई पराजित गर्दै फाइनल पुगेको हो भने आयोजक इटहरीले दमक भेट्रानलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
प्रतियोगिताको म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रानका भूपाल विष्ट घोषित भए । बेस्ट गोल किपर र बेस्ट डिफेन्स हाम्रो इटहरीकै क्रमशः सुनिल तामागं र राम शरण चौधरी घोषित भए ।
बेस्ट मिड फिल्डर मिल्स भेट्रानका डेनिम राई घोषित भए । हाम्रो इटहरीका लिलाराम मगर बेस्ट फरवार्ड, हाइ स्कोरर तिर्थ याक्सो, बेस्ट कोच दिपेन तामागं सबैले नगद २५ सय पुरस्कार पाएका छन् । यस्तै सर्बोच्च खेलाडी घोषित भएका दिवश राईले नगद ३५ सय पुरस्कार प्राप्त गरेका छन् ।

















