सुनसरी — मलेसियाको आरटीएफसी सुनसरीको बराहक्षेत्रमा जारी नवौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सहभागितामै च्याम्पियन बनेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा मोरङको पथरी स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आरटीएफसीले उपाधि उचालेको हो।
न्यु स्टार क्लबको आयोजनामा स्थानीय जडेज खेल मैदान, भरौलमा भएको प्रतिस्पर्धात्मक खेलमा आरटीएफसीलाई जित दिलाउन रिचार्ड विलियमले दुई तथा रिचार्ड विइचेनले एक गोल गरे।
खेलका तीनवटै गोल पहिलो हाफमै सम्भव भएका थिए। विलियमले १५औं र २२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि विइचेनले अर्को गोल थप्दै पहिलो हाफमै आरटीएफसीलाई ३–० को मजबुत अवस्थामा पुर्याएका थिए।
दोस्रो हाफमा पथरी स्पोर्टिङ क्लबले पुनरागमनको प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन।
खेलको ११औं मिनेटमा टाम्पियो हबिज र १४औं मिनेटमा डानियलले गोल फर्काए पनि अन्ततः पथरी ३–२ ले पराजित हुन पुग्यो।
पहिलो सहभागितामै उपाधि जित्दै एनआरएन मलेसियाका उपाध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी राजु तामाङको नेतृत्वमा रहेको आरटीएफसीले नगद ४ लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको पथरी स्पोर्टिङ क्लबले २ लाख रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पथरीका मिलन राई घोषित भए। उ
नले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
विजेता तथा उपविजेता टोलीलाई बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी राई लगायतले पुरस्कार वितरण गरेका थिए।
चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टिमको सहभागिता रहेको थियो।

















